१६ पुस, काठमाडौं । काठमाडौंको गौशालास्थित तिलगंगा आँखा अस्पतालले आँखाको नानी दान गर्नेलाई श्रद्धासुमन अर्पण गर्नुका साथै उनका परिवारलाई कदरपत्रले सम्मान गरेको छ । ‘ आँखा दान महादान’ भन्ने नारासहित नेपाल आँखा बैकले शनिवार आयोजना गरेको ‘सामूहिक श्रद्धाञ्जली सभा’ कार्यक्रममा नेपाल आँखा बैकले मरणोपरान्त आँखाको नानी दान गर्ने व्यक्तिको सम्झना तथा सम्मानमा श्रद्धा सुमन अपर्ण गर्नुका साथै आखा दान गर्नेको परिवारलाई कदरपत्रद्वारा सम्मान गरेको थियो । नेपाल आँखा बैंकले दृष्टिविहीनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष आँखाका नानी दान गर्नेको सम्झनामा यस प्रकारको श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि हरिवंश आचार्यले मृत्युपश्चात दान गरेको श्रीमती मीरा आचार्यको आँखाले आफूहरुलाई हेरेर हाँसिरहेको र अहिलेसम्म पनि उनी जिवितै रहेको उल्लेख गर्दै अन्धविश्वासको पछाडि नलागी मृत्युपश्चात शरिरबाट काम लाग्ने आँखाको नानी लगायत अन्य अगंहरु दान गर्ने संस्कृतिको विकासको थालनी गर्न अनुरोध गरे । त्यस्तै, यस वर्ष २३५ जनालाई आँखाको नानी प्रत्यारोपण गरी पुन दृष्टि दिलाउने विराटनगर आँखा अस्पतालका निर्देशक डा. संजय सिंहले एकजनाबाट दान गरेको आँखाको नानीले चार जना दृष्टिविहिनलाई दृष्टि प्रदान गर्न भन्दै नेपाल आँखा बैंकले गरि आएको आँखाको नानी संकलन सराहनीय रहेको जानकारी दिए ।
कार्यक्रममा विपी नेत्र अध्ययन प्रतिष्ठान शिक्षण अस्पताल महाराजगंजका कर्निया विभाग प्रमुख डा.मिनु चौधरीले आँखा दान गर्नु गराउनुको साथै आँखाको नानी प्रत्यारोपण विशेषज्ञको सेवा सुविधालाई नेपालको सबै क्षेत्रमा उपलब्ध गर्न आँखाको नानी रोग विशेषज्ञको जनशक्ति बढाउनुपर्ने र आँखा नानी प्रत्यारोपण शल्यक्रियाको लागि श्रोत, साधन र उपकरणको पनि आवश्यक मात्रामा उपलब्ध गर्न सरकारको ध्यानाकर्षण गराइन् । त्यसैगरी, नेपाल आँखा बैंकको लागि साइट लाइफ अमेरिकाकी प्रोगाम म्यानेजर तथा प्रतिनिधि राखी नाथवटले आँखा दानसम्बन्धी भएको बृहत कार्यक्रम विश्वमै विरलै हुने भएकोले यो अभियानलाई आदर्शको रुपमा लिनुपर्ने धारणा व्यक्त गरिन् ।
नेपाल आँखा बैंकले अन्तराष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गरी आँखाको नानी संचय र वितरण प्रणाली अवलम्बन गर्दै नेपालको सबै क्षेत्रमा आँखाको नानी उपलब्ध गरी आँखा प्रत्यारोपण सेवामा सहयोग गर्दै आएको तथा एशियामै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भन्दै उनले नेपाल आँखा बैंकलाई अन्तराष्ट्रिय स्तरको बैंक सम्बन्धि तालिम केन्द्रको रुपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं पशुपतिनाथका अध्यक्ष बिमल श्रेष्ठले पशुपतिबाट शुरु गरेको मृत्युपछि गरिने आँखा दान कार्यक्रमलाई नेपालभर विस्तार गर्न लायन्सहरु लागि परेको जानकारी दिए ।कार्यक्रम पाटन अस्पतालका निर्देशक डा.विष्णु शर्मा, विभिन्न अस्पतालका निर्देशक लगायत मरणोपरान्त आखाको नानी दान गर्नेका आफन्तहरु लगायत हजार भनदा बढीको सहभागितामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान संचालक समितिका सदस्य शम्भु तामाङ्गको सभापतित्व ग्रहण गरेका थिए ।
साभारः अनलाइन खबरबाट
साभारः अनलाइन खबरबाट
No comments:
Post a Comment