९ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसकै सहमतिमा बहुमतीय प्रणाली मार्फत राष्ट्रियसभा गठन गर्ने विधेयक राज्यव्यवस्था समितिबाट पास गरिए पनि कांग्रेसले उल्टाएको आरोप लगाएका छन । स्थानीय तहको पहिलो चरणको चुनावको परिणामबाट कांग्रेस डराएको र राष्ट्रियसभामा शून्य हुन्छौं भनेर त्यसलाई उल्ट्याएर एकल संक्रमणीय प्रणालीको व्यवस्था राखेर अध्यादेश तयार पारेको प्रचण्डको भनाइ छ । चितवनमा आइतबार आयोजित कार्यक्रममा प्रचण्डले पारित हुनै लागेको विधेयकलाई उल्ट्याएर कांग्रेसले नै विवादको सुरुआत गरेको दावी गरे । उनले यो विवाद छिट्टै समाधान हुने र नयाँ सरकार गठन हुने पनि बताए ।
यस्तो छ प्रचण्डको भनाइ : अहिले राष्ट्रियसभा गठन सम्बन्धमा केही विवाद देखिएका छन् । त्यो संवैधानिक थोरै र धेरै राजनीतिक विषय छ । राष्ट्रिय सभाका बारेमा समाधान छिट्टै हुन्छ । छिटोभन्दा छिटो सरकार गठन हुन्छ । राष्ट्रिय सभा गठन सम्बन्धमा निर्वाचन आयोगले विधेयक ड्राफ्ट गरेको थियो । त्यसमा बहुमतीय आधारमै गठन गर्ने उल्लेख छ । त्यही स्पि्रटका साथ अघि बढेको थियो । बहुमतीय आधारमै गठन गर्ने भन्ने ड्राफ्ट क्याविनेटमा आयो । हामीले क्याविनेटबाट सर्वसम्मत ढंगबाट पास गर्यौं । क्याविनेटबाट विस्तृत छलफलका लागि सदनमा पठाइयो । संसदको राज्य व्यवस्था समितिबाट पनि छलफल भएर सर्वसम्मत पास भएर अघि बढ्यो ।
तर, त्यसैबेला पहिलो चरणको स्थानीय चुनाव भयो । जतिवेला म आफै प्रधानमन्त्री थिएँ । त्यसको नतिजा वामपन्थीको पक्षमा आयो । वाम गठबन्धन नभएपनि एमाले र माओवादीको मत जोड्दा धेरै नै बढी देखिन्थ्यो । त्यसले गर्दा नेपाली कांग्रेसका साथीहरुलाई बहुमतीयमा गए शून्य हुन्छौं भन्ने बुद्धि पलायो र उहाँहरु संशोधन गरेर उल्ट्याउने तिर लाग्नुभयो । उहाँहरुले एकल संक्रमणीय प्रणालीको कुरा गर्नु भएको छ । कांग्रेसकै सहमतिमा राज्य व्यवस्था समितिसम्म पास भएको यो विधेयकमा कांग्रेसकै कारण विवाद सुरु भएको हो ।
साभारः अनलाइन खबरबाट
No comments:
Post a Comment