नाटक हेरेपछि वैदेशिक रोजगार छाडेर मतदान - Taja Samachar Online

काठमाडौं : रोजगारीको सिलसिलामा रामे विदेशमा छ । उसले सञ्चारमाध्यमबाट देशका गतिविधि नियालिरहेको छ । देशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन गइरहेको जानकारी उसले पाउँछ । गणतन्त्रपछि देशमा पहिलोपटक हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा ऊ आफू पनि भाग लिन चाहन्छ । तर, उसलाई आफूले काम गरेको कम्पनीबाट बिदा मिल्दैन । कम्पनीले बिदा दिन नमानेपछि अन्ततः ऊ जागिर नै छोडेर स्वदेश फर्किन्छ । देशमा हुन लागेको निर्वाचनमा आफू होमिँदै निर्वाचनका बारेमा सबैलाई सिकाउँदै हिँड्न थाल्छ । यस्तैयस्तै कथामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजन र आरोहण गुरुकुलको सहकार्यमा भइरहेको सडक नाटक ‘महादान’ यति बेला देशका ४५ जिल्लामा मञ्चन भइरहेको छ । नजिकिँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको आगामी २१ मंसिरमा हुने निर्वाचनका लागि नाटक महादानमार्फत मतदान शिक्षा बाँड्न विभिन्न नाट्य टोली जिल्लाजिल्लामा क्रियाशील छन् । निर्वाचन अयोगद्वारा सञ्चालन गरिएको महादान नाटक बिहीबार पनि मुलुकका सातवटै प्रदेशका विभिन्न स्थानमा मञ्चन गरिएको छ । यसै क्रममा प्रदेश १ को इलाम, झापा र धनकुटाका विभिन्न स्थानमा बिहीबार नाटक महादान मञ्चन गरियो । इलाम जिल्लाको फाकफोक धुम गाउँपालिकाको आमचोक, मांगेबुसङ गाउँपालिकाको गजुरमुखी बजार र देउमाई गाउँपालिकाको मंगलबारे बजारमा चेतना नाट्य समूहले नाटक महादान मञ्चन गरेको छ । समूहका निर्देशक सुरेश पोर्तलले यी स्थानमा ठेट पूर्वेली भाषामा नाटक देखाइएको जानकारी दिए ।

नाटक हेरेपछि वैदेशिक रोजगार छाडेर मतदान - Taja Samachar Online

यस्तै मतदान शिक्षा बाँड्न झापा जिल्ला पुगेको परिवर्तन नाट्य समूहकी निर्देशक कविता नेपालका अनुसार सो समूहले झापाको दमक नगरपालिकाको फाल्गुनन्द चोक, गौरीगन्ज गाउँपालिकाको गौरीगन्ज बजार, गौरादह नगरपालिकाको गौरादह बजार, कमल गाउँपालिकाको केर्खा बजार र शिवशक्ति गाउँपालिकाको दूधे बजारमा नाटक मञ्चन गरेको छ । प्रदेश १ कै मोरङ जिल्लामा पनि बिहीबार आरोहण गुरुकुलले नाटक देखाएको छ । टोलीका निर्देशक दीपेश भण्डारीका अनुसार मोरङको सुन्दर हरिया नगरपालिकास्थित विराट चोक, केराबारी गाउँपालिकाको केराबारी बजार, बेलबारी नगरपालिकाको बेलबारी चोक र कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा नाटक महादान मञ्चन गरिएको छ । झोरहाट नाट्य समूहले पनि धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको जितपुर बजार र चौबिसे गाउँपालिकाको राजारानी बजारमा नाटक देखाएको छ । यस्तै प्रदेश २ को सिरहा जिल्लाका विभिन्न ठाउँमा पनि बिहीबार नाटक महादान मञ्चन गरियो । सिरहा जिल्लाको लक्ष्मीपुर गाउँपालिकास्थित पतरी बजार, सखुम्बा नकार कटरी गाउँपालिकाको महेशबारी बजार, नवराजपुर गाउँपालिकाको सोनवर्षा बजार, बरियारपट्टी गाउँपालिकाको सुखीपुर बजारमा बिरट मैथिल समूहले नाटक महादान मञ्चन गर्‍यो ।

यस्तै लोकसञ्चार नाट्य समूहले धुनषाको तारपट्टी मिथिला बिहारी नगरपालिका परिसर, धनुषाधाम नगरपालिकाको धनुषाबजार, सबैला नगरपालिकाको सबैला बजार, गणेशमान चारनाथ नगरपालिकाको ढल्केबर बजार र महेन्द्रनगर नगरपालिकाको महेन्द्रनगर बजारमा नाटक प्रदर्शन गरेको छ । सिरहा र महोत्तरीमा नेपाली तथा मैथिली भाषामा नाटक मञ्चन गरिएको हो । त्यस्तै प्रदेश २ मै बाराका दुई स्थानमा पनि बिहीबार नाटक महादान मञ्चन गरिएको छ । यो जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकास्थित जितपुर बजार र निजगढ नगरपालिकाको पुरानो निजगढ बजारमा भोजपुरी र नेपाली भाषामा नाटक देखाइएको गढीमाई नाट्य समूहका रामलोचनले बताए । त्यस्तै प्रदेश ३ को चितवन जिल्लाको कालिका नगरपलिकाको खोलेसिमल, खैरेनी नगरपालिकाको पर्साचोक र राप्ती नगरपालिकाको भण्डारा चोकमा सांस्कृतिक संस्थानको आकाश थापा नेतृत्वको टोलीले नाटक महादान प्रदर्शन गर्‍यो । प्रदेश ३ को काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाको आधावात, रोसी गाउँपालिकाको मंगलबजार र नमोबुद्ध नगरपालिकाको भकुन्डे बजारमा सेलो थियटरको नाट्य टोलीले नाटक देखाएको छ । उनीहरूले नेपाली र तामाङ भाषामा नाटक देखाए ।

यस्तै प्रदेश ४ को स्याङ्जामा क्रियाशील हाम्रो मझेरी नाट्य समूहले फेदीखोला गाउँपालिकाको फेदीखोला बजार, सेतीदोभान गाउँपालिकाको सेतीदोभन बजार र पुतलीबजार नगरपालिकाको पुतलीचोकमा नाटक महादान मञ्चन गरेको निर्देशक टंक टाइगरले जानकारी दिए । प्रदेश ५ को अर्घाखाँची जिल्लास्थित सन्धिखर्क नगरपालिकाको बगैंचा चोक, भूमिस्थान नगरपालिकाको नुवाकोट, क्षेत्रवेद गाउँपालिकाको छत्रगन्ज र मालारानी गाउँपालिकाको खनदह बजारमा नाटक महादान प्रदर्शन गरिएको सप्तक कलापरिषद् नाट्य समूहका निर्देशक दामोदर खतिवडाले बताए । यस्तै शरदकुमार नाट्य कला मञ्चले प्रदेश ५ को दाङस्थित राप्ती गाउँपालिकाको भालुवाङ बजार, गढवा गाउँपालिकाको गढवा चोकमा बिहीबार नाटक महादान प्रदर्शन गर्‍यो । नेपाली र स्थानीयमा प्रचलित दंगाली भाषामा नाटक देखाइएको निर्देशक नरेन्द्र वलीले बताए । प्रदेश ५ को रूपन्देही जिल्ला पुगेको सांस्कृतिक संस्थानको नाट्य टोलीले बिहीबार बुटवल उपमहानगरपालिकाको ट्राफिक चोक, तिलोत्तमा नगरपालिकाको मणिग्राम, देवदह नगरपालिकाको खैरेनी, कोटिहवा गाउँपालिकाको कोटिहवा, ओमसत्या गाउँपालिकाको करवानी चोक, रोहिणी गाउँपालिकाको धक्धैमा नाटक महादान देखाइएको टोली व्यवस्थापक पवित्र पंगेनीले जानकारी दिइन् । यस्तै प्रदेश ५ कै कपिलवस्तु पुगेको शृंखला नाट्य समूहको टोलीले कपिलवस्तु नगरपालिकाको नयाँ टोल र मायादेवी गाउँपालिकाको डुमरा बजारमा नाटक महादान प्रदर्शन गरेको छ ।

साभारः अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...