कोकिन कारोबारको ट्रान्जिट पोइन्ट बन्दै काठमाडौं

५ माघ, काठमाडौं । बोलिभियाका नागरिक फ्रेडी ममनी एन्डिए २८ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए ।२८ वर्षीय एन्डिए बोलिभियाबाट ब्राजिल, ईथोपिया र भारत हुँदै उनी नेपाल आइपुगेका थिए । चेकजाँच गर्ने क्रममा प्रहरीले उनको कालो सुटकेसमा कोकिन भएको सुइँको पायो । उनले सुटकेशको चारकुने साइडमा फल्स बटम बनाएर कार्वन पेपरले बेरेर कोकिन ल्याएका थिए । तर, प्रहरीले उनलाई पक्राउ गरेन र कोकिनसहित बाहिर जान दियो ।कोकिन बोकेर बाहिरिएका उनलाई डीएसपी प्रेम शाहीको नेतृत्वको टोलीले पछ्याइरहेको थियो । एन्डिए काठमाडौं ओर्लिएको ५ दिनपछि थाइल्याण्डबाट २८ वर्षीय खुन्जाई खनारत नेपाल आइपुगिन् । बिहीबार बोलिभियन पुरुष र थाई महिलाबीच त्यो कोकिन ह्याण्डओभर हुने तयारी थियो ।

ठमेलको एक होटलमा हुन लागेको कोकिन ह्याण्डओभर प्रहरीले नजिकबाट नियालिरहेको थियो । उनीहरुबीच लेनदेन हुँदै गर्दा बिहीबार प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उनीहरुलाई पक्राउ गर्‍यो । ब्यूरोका प्रमुख डीआईजी ठूले राईका अनुसार उनीहरुको साथबाट झण्डै दुई केजी कोकिन बरामद भयो । बरामद भएको कोकिनको मुल्य करिब ४ करोड रुपैयाँ पर्ने प्रहरीले बताएको छ ।बोलिभियामा उत्पादन भएको कोकिनको ओसारपसार र विक्री वितरणका लागि अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीले नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन थालेका खुलेको छ । बोलिभियाबाट ब्राजिल, ईथियोपिया, भारत हुँदै नेपाल ल्याउने र बैंककसहितका ठाउँमा कोकिन पठाउने गरेको खुलेको हो । बिहीबार पक्राउ परेका बोलिभयन नागरिकले ब्राजिल, इथोपिया र भारत हुँदै कोकिन नेपालसम्म ल्याएका थिए ।

थाई युवतीले त्यसलाई बैंकक पुर्‍याउने जिम्मा पाएकी थिइन् । तर, नेपाल प्रहरी उनीहरुलाई पक्राउ गरेको छ ।यसअघि ७ असोजमा दुई जना विदेशी नागरिक २ किलो ७ सय ग्राम कोकिन ह्यान्डओभर गर्दागर्दै पक्राउ गरेका थिए । बोलिभियाबाट ब्रजिल र दुबई हुँदै नेपाल आइपुगेको कोकिन एक जना भारतीय युवतीलाई दिँदै गर्दा प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।

त्यस्तै, २६ साउन ०७३ मा पनि साढे ३ किलो कोकिनसहित एक जना बोलिभियन नागरिक पक्राउ परेका थिए ।

साभारः अनलाइन खबरबाट

No comments:

Post a Comment

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् । आई...