काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले यो हिउँदमा करिब एक महिना औद्योगिक सहर नेपालगन्जमा विताए । आफ्नो लगानीमा सञ्चालित होटल सोल्टीको उद्घाटन गर्न परिवारसहित पूर्वराजा नेपालगन्ज पुगेका थिए । उनले अंग्रेजी नयाँ वर्षमा चारतारे होटल सोल्टीको उद्घाटन गरे । होटल उद्घाटनको बहानामा पुगेका उनी करिब एक महिनासम्म नेपालगन्जमा बस्नुलाई भने धेरै अर्थपूर्णरुपमा लिएका छन् ।
नेपालगन्जसँग चिसो सम्बन्ध : नेपालगन्ज र राजापरिवारको सम्बन्ध विगतमा कहिल्यै सकारात्मक छैन । मध्य तथा सुदुरपश्चिमको केन्द्र नेपालगन्जलाई बेवास्ता गरी तत्कालिन राजा वीरेन्द्रले क्षेत्रीय सदरमुकाम सुर्खेत राखेपछि नेपालगन्ज र राजापरिवारबीच चिसोपन बढेको हो । इतिहासका हरेक घटना क्रममा राजपरिवारबाट नेपालगन्जबासी ठगिँदै आएका छन् ।
त्यति मात्र होइन ज्ञानेन्द्रले समेत आफु राजा हुँदा नेपालगन्जप्रति पूर्वाग्रही भावना राखेका थिए । नेपालगन्जमा रहेका अधिकांश मध्यपश्चिमाञ्चल विकास क्षेत्रका कार्यालय उनले कार्यकारी अधिकार लिएका बेला बलजफ्ती सुर्खेत सारे । त्यसबेला उनको यो कदमको चर्को विरोध भयो । नेपालगन्जबासी शाही शासनकालमा समेत राजाको कदमविरुद्ध सडकमा उत्रिएका थिए । त्यो बेला उनले नेपालगन्जबासीबाट कडा आलोचना खेप्नुपर्यो ।
नागरिक अभिनन्दन कोहलपुरमा: तत्कालिन राजा ज्ञानेन्द्रले शाही शासनका कालमा सहानुभूति बटुल्न देशभर नागरिक अभिनन्दन गर्न लगाए । त्यही क्रममा नेपालगन्जमा समेत नागरिक अभिनन्दन कार्यक्रम राखियो । नागरिकबाटै राजाको विरोध भइरहेकाबेला नागरिक अभिनन्दन कार्यक्रम नै १६ किलोमिटर टाढा कोहलपुरमा सारियो । उनले यो बेला 'सनकको भरमा' नेपालगन्जका क्षेत्रीय कार्यालय सुर्खेत सार्न दिएको निर्देशनको चौतर्फी विरोध भएको थियो । त्यहीकारण सुरक्षा सयन्त्रले नेपालगन्जमा नागरिक अभिनन्दन गर्दा सुरक्षामा समस्या हुने सुझाव दिएपछि कोहलपुरमा गरिएको थियो । नेपालगन्जका सबै क्षेत्रीय कार्यालय सुर्खेत सार्ने कदमको विरोध भइरहेका कारण नागरिक अभिनन्दन थाप्न ज्ञानेन्द्र हच्किएका थिए । त्यस समयमा ज्ञानेन्द्रले नेपालगन्जमा रहेको पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरको समेत हेलिकप्टरबाटै दर्शन गरेका थिए । आफु राजा हुँदा उनले नेपालगन्जमा पाइला समेत राखेनन् ।
अहिले किन नेपालगन्ज मोह ? पूर्वराजा ज्ञानेन्द्रले यस पटक तीनसाता भन्दा बढी समय नेपालगन्जमा बिताए । के उनी आफ्नो व्यापार व्यवसाय बढाउन मात्रै नेपालगन्ज बसेका हुन् त ? या अन्य पनि कारण छन् ? राजनीतिमा असफल राजा ज्ञानेन्द्र व्यापार व्यवसायमा भने सफल मानिँदै आएका छन् । उनी नेपालका धनाढ्य व्यापारीमध्ये एकमा पर्छन् । आफू राजा हुँदा पाइलासमेत हाल्न तयार नभएका ज्ञानेन्द्र अहिले किन त्यति लामो समय नेपालगन्जमा बसे ? नेपालगन्जप्रति सधैँ नकारात्मक दृष्टिकोण राख्ने राजपरिवारको नेपालगन्ज मोह अहिले किन बढ्यो त ?
पूर्वराजाको नेपालगन्ज बसाई: पूर्वराजा ज्ञानेन्द्र पुसको दोस्रो साता आफ्नो लगानी रहेको होटल सोल्टीको उद्घाटन गर्न नेपालगन्ज गएका हुन् । अंग्रेजी नयाँ वर्षको दिन सोल्टी होटलको उनले उद्घाटन गरे । त्यसपछि नेपालगन्जका राजनीतिक दलका नेता, व्यवसायी र जनप्रतिनिधि लगायतसँग भेटघाट र परामर्श गरे । आफु राजा हुँदा हेलिकोप्टरबाट दर्शन गरेको बागेश्वरी मन्दिरको उनले पैदल नै गएर दर्शन गरे । बर्दिया, दाङ, सुर्खेत र कैलाली लगायतका जिल्लामा पनि पुगे । त्यहाँ समेत मठमन्दिरको दर्शन गर्नुका साथै स्थानीय नेता र व्यवसायीसँग भेटघाट तथा परामर्श गरे । यतिमात्र होइन, भारतकै ठूलो उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटघाट गर्न पुगे । उनी तीन दिनअघि मात्रै काठमाडौं फिर्ता भएका छन् ।
आदित्यनाथलाई किन भेटे ? उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथ अन्तराष्ट्रिय हिन्दु महासंघका उपाध्यक्ष हुन् । उनी नेपालमा राजासंस्थाको पुनर्वाहाली र हिन्दुराष्ट्रको वकालत गर्दै आएका भारतीय हिन्दुवादी नेता हुन् । आदित्यनाथसँगको भेटले पूर्वराजाको नेपालगन्ज बसाई नितान्त व्यवसायिक मात्र नभई राजनीति समेत रहेको पुष्टि गरेको छ । उनले नेपालमा पुनः हिन्दुराष्ट्र फर्काउन पहल गरिदिन आदित्यनाथसँग आग्रह गरेको कुरा समेत सार्वजनिक भइसकेको छ। राजसंस्था पुनर्वाहालीबारे समेत योगी आदित्यनाथसँग कुराकानी भएको चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् । राजनीतिक शास्त्रका प्रा.डा. जर्नादन आचार्य भारतले राजकीय सम्मानका साथ पठाउनुलाई महत्वरुपमा हेरिएको बताउँछन् । ‘घुम्न भनेर गएका पूर्व राजालाई भारतले राजकीय सम्मानका साथ पठाएर जुन सहानुभुति र सदभाव देखायो, त्यसभित्र धेरै अर्थ लुकेको हुनु पर्छ’, उनले बताए ।
राजावादी र हिन्दुवादीको पकड : पुराना राजघराना शाह, राणा र ठकुरीको बाक्लो बसोबास रहेको नेपालगन्ज राजावादी र हिन्दूवादीको शहरको रुपमा चिनिन्छ । २०५१ सालको मध्यवधि निर्वाचनमा यहाँका ३ वटै निर्वाचन क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टी जितेको थियो । २०७४ सालको भएको स्थानीय तहको निर्वाचनमा देशभर राप्रपाको लज्जापद पराजय हुँदा नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले सहानदार जित दर्ता गर्यो । राप्रपाको बलियो उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका महामन्त्री डा.धबल शम्शेर राणा विजयी भए। नेपालगन्जमा पहिलेबाटै राजावादी र हिन्दुवादीको पकड रहँदै आएको छ । राजावादी र हिन्दुवादीको पडक क्षेत्र रहँदा रहँदै पनि राजपरिवारको निगाहमा भने नेपालगन्ज कहिल्यै परेन । तत्कालिन राजा वीरेन्द्रले पनि नेपालगन्जलाई मन पराएनन्, त्यसपछि राजा बनेका ज्ञानेन्द्रले पनि त्यही व्यवहार देखाए । ज्ञानेन्द्रले नेपालगन्जबाट नेपाली सेनाको पश्चिम पृतना लगायतका सबै क्षेत्रीय कार्यालय सुर्खेत लगे । राप्रपाले स्थानीय निकायमा जितेका कारण राजनीति गतिविधि गर्न सजिलो हुन्छ भनेर पूर्वराजा नेपालगन्ज यति लामो बसेका भन्नेहरुको पनि कमी छैन ।
साभारः अन्नपूर्ण पोष्टबाट
No comments:
Post a Comment