११ पुस, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ मन्दिरको कोर क्षेत्रमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ । यसअघि ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति क्षेत्रमा पनि गाडीहरु निषेध गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले भने, ‘श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नलाई पनि सवारी साधन निषेध आवश्यक देखियो ।’ यसअघि पशुपतिनाथ मन्दिरको पश्चिम र दक्षिण ढोका अगाडि रहेको सडकमा गाडीहरु गुड्थे । यसबाट भक्तजनहरुलाई हिँडडुलमा अप्ठ्यारो हुने गरेको थियो । डीएसपी मरासिनीले भने, ‘अब मन्दिर परिसरमा स्वच्छ, सफा र भक्तजनहरुलाई पनि सहज हुने विश्वास लिएका छौं ।’
शव बाहन र एम्बुलेन्सलाई छुट, घर भएकालाई पास : यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैनथ्यो । अब भने सधैंका लागि पशुपतिनाथ मन्दिरको कोर क्षेत्रलाई सवारी मुक्त गराइएको छ । प्रवक्ता मरासिनीका अनुसार शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । पशुपति आर्यघाटमा दर्जनौं शव दाह हुने भएकाले शव बाहनलाई भने भित्रैसम्म आउन-जान दिइने छ । पशुपति क्षेत्र वरपर घर भएकाहरुले भने आफ्नो घरसम्म गाडी लैजान सक्नेछन् । त्यसको लागि पास लिनुपर्ने छ । ‘घर भएकाहरु आफ्नो घरसम्म जान सक्नुहुन्छ, त्यसका लागि पासको व्यवस्था मिलाइएको छ,’ उनले भने ।
बनकाली र उमाकुण्डमा पार्किङ : मंगलबारबाटै पशुपति क्षेत्रको वनकाली र उमाकुण्डभन्दा भित्र गाडीहरु लैजान दिइने छैन । पार्किङका लागि वनकालीको चौर र उमाकुण्डमा ठूलो स्थान छुट्याइएको छ । ट्राफिक प्रहरीले आवत-जावतलाई व्यवस्थित बनाउन वान-वेको पनि व्यवस्था गरेको छ । गौशाला प्रहरी कार्यालयको छेउँबाट वनकालीतर्फ तल जान पाइए पनि फेरि त्यही बाटो हुँदै फर्किन भने पाइने छैन ।फर्किनका लागि सुमार्गी भवन (चारमूर्ति)तर्फको बाटो प्रयोग गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
साभारः अनलाइन खबरबाट
No comments:
Post a Comment