फिदिम : पाँचथरमा उम्मेदवारले पाएको भन्दा बदर मत संख्या धेरै देखिएको छ । संघ र प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकमा गरी १५ प्रतिशत मत बदर भएको छ ।प्रत्यक्षतर्फ वाम गठबन्धन (एमाले-माओवादी केन्द्र) र कांगे्रसका उम्मेदवारले पाएको मत पछि तेस्रो स्थान बदरको छ । समानुपातिकतर्फ एमाले र कांग्रेसपछि बदर मत संख्या छ । माओवादी केन्द्रको चौथो स्थान छ । मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य वाम गठबन्धनका वसन्त नेम्बाङ र कांग्रेसका भीष्मराज आङ्देम्बेले पाएको मतपछि तेस्रो स्थान बदर मतको छ ।
कुल ६६ हजार नौ सय १३ मतमध्ये नेम्बाङले ३८ हजार सात सय ४१ मत पाएर निर्वाचित भएका हुन् । कांग्रेसका आङ्देम्बेले २८ हजार २४ मत पाए । पाँच हजार सात सय ३१ मत बदर भएको छ । प्रदेशसभामा पनि बदर मतको संख्या अत्यधिक छ । प्रदेश ‘क’ मा खसेको ४१ हजार पाँच सय ८१ मतमध्ये वाम गठबन्धनका गणेश काम्वाङ र कांग्रेसका नरेन्द्रकुमार केरुङले पाएको मत पछि बदर मत संख्या छ । काम्वाङ विजयी हुँदा २१ हजार १० मत पाए भने उनका प्रतिद्वन्द्वी केरुङले १६ हजार ६८ मत पाए । दुई हजार एक सय ७३ मत बदर भएको छ । अन्य दलका उम्मेदवारले पाएको मतभन्दा बदर मतको संख्या धेरै छ ।
प्रदेशसभा ‘ख’ मा बदर मतको संख्या झन् धेरै छ । ३६ हजार एक सय ५६ मतमध्ये वाम गठबन्धनका इन्द्र आङ्बोले १६ हजार नौ सय ८ मत पाएर विजयी बने । उनका प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्र दाहालले १२ हजार एक सय १७ मत पाए । यी दुईबाहेक अन्य उम्मेदवारले पाएको मतभन्दा धेरै मत बदर भएको छ । यहाँ २४७९ मत बदर भएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ खसेको ७७ हजार नौ सय ७७ मध्ये नौ हजार एक सय ४० मत बदर भएको छ । समानुपातिकतर्फको प्रदेशसभामा भने धेरै मत बदर भएको छ । १२ हजार सात ४७ मत बदर भएको छ ।एमाले र कांग्रेसले क्रमशः पहिलो र दोस्रो मत पाएका छन् भने बदर मत संख्यापछि माओवादी केन्द्रको मत छ ।
अधिकांश उम्मेदवारले पाएको मतभन्दा धेरै मत बदर भएपछि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको दलका नेताको दाबी छ । उता, आफूले खोजेजस्तो उम्मेदवार नपाएपछि मतदाताले जानीजानी मत बदर गरेको निर्वाचन कार्यालयको तर्क छ । जिल्लामा मतदाता शिक्षाका लागि मात्रै २५ लाखभन्दा बढी खर्च गरिएको जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार राईले जानकारी दिए। ‘मतदाता शिक्षा प्रभावकारी बनाउन ठूलो रकम खर्चिएको छ’, राई भन्छन्, ‘बदर मतको संख्यालाई हेर्दा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको देखिएन ।’ ‘भोट हाल्ने तरिका नजानेरै धेरै मत बदर भएको छ’, कांग्रेसका जिल्ला सचिव बृजहाङ आङ्देम्बेले भने, ‘कार्यकर्ता परिचालन गर्दा पनि धेरै मत बदर भएको पाइयो । यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्छ ।’
भीमकुमार बास्कोटा, साभारः अन्नपूर्ण पोष्टबाट
No comments:
Post a Comment