वीरगन्ज : वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको औषधि पसल (फार्मेसी)बाट सेवाग्राही ठगिएका छन् । निजी औषधि पसलभन्दा सस्तोमा औषधि उपलब्ध गराउने भन्दै ६ महिनायता अस्पताल व्यवस्थापनले फार्मेसी सञ्चालनमा ल्याएको हो । तर, सरकारी फार्मेसीले तोकिएभन्दा महँगो मूल्यमा औषधि बिक्री गर्दै आएको खुलेको छ । बुधबार साँझ भर्ना भएकी माला देवीको शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्र्ने भएपछि उनका आफन्त औषधि किन्न अस्पताल परिसरकै औषधि पसल गएका थिए । फार्मेसीका कर्मचारीले औषधिको बट्टामा अंकित मूल्यभन्दा बढी रकम लिएपछि बिरामी ठगिने गरेको तथ्य बाहिर आएको हो ।भारतीय कम्पनीको टर्मिन नामक इन्जेक्सनको अधिकतम बिक्री मूल्य दुई सय एक भारु (तीन सय २२ नेपाली रुपैयाँ) अंकित भए पनि पसलका कर्मचारीले भने तीन सय ६० असुलेका थिए ।
बिलमा पनि इन्जेक्सनको मूल्य तीन सय ६० रुपैयाँ उल्लेख छ । औषधि उत्पादक कम्पनी वा थोक बिक्रेतासँग खरिद गर्दा खुद्रा पसलेले अधिकतम मूल्यमा निश्चित प्रतिशत छुट र कमिसन दुवै पाउँछन् । तर, सरकारी अस्पतालको फार्मेसीका कर्मचारीले अंकित मूल्यभन्दा महँगो दरमा औषधि बिक्री गर्दै आएका कारण बिरामी मर्कामा परेका छन् । यस विषयमा अस्पताल प्रशासन र अस्पताल विकास समिति भने मौन छन् । फार्मेसीका कर्मचारीले कमिसन लोभमा समितिले अनुमति नै नदिएका औषधिसमेत बेच्दै आएका छन् । सोमबार गाइनो वार्डमा भर्ना भएकी सोनामती देवीलाई अनुमति नदिएको औषधि कर्मचारीले लुकाइछिपाइ बेचेको दृश्य सीसीटीभी क्यामेराले देखाएको समितिका सदस्य सुशील खेतानले बताए । भने, ‘अस्पताल विकास समितिले प्रोटिन पाउडर बेच्ने अनुमति दिएको छैन तर बाहिरबाट ल्याएर फार्मेसीका कर्मचारी विजय यादवले बेच्ने गरेको प्रमाण भेटिएको छ ।’
अस्पतालका चिकित्सकको सिफारिसबाहेक क्लिनिक र नर्सिङ होमका बिरामीलाई औषधि बिक्री गर्न पनि समितिले रोक लगाएको छ । तर, फार्मेसी इन्चार्जसमेत रहेका यादवले बाहिरका बिरामीलाई पनि औषधि बिक्री गर्दै आएको खेतानको दाबी छ । यादवमाथि कारबाही सिफारिस गरे पनि अस्पताल प्रशासनले चासो नदेखाएको खेतानले गुनासो गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इमामुल हकले बुधबार प्राविधिक त्रुटिका कारण बढी मूल्यमा औषधि बिक्री भएको स्वीकार गरे । ‘मैले यसबारे इन्चार्ज यादवलाई बोलाएर सचेत गराइसकेको छु’, उनले भने, ‘अब फेरि गल्ती गरे भने कारबाही नै गर्छौं ।’
क्रान्ति साह ,साभारः अन्नपूर्ण पोष्टबाट

No comments:
Post a Comment