भक्तपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायबसुब्बालाई सेवाग्राहीबाट लिएको एकलाख रुपैयाँ घूससहित बिहीबार रंगेहात पक्राउ गरेको छ । आयोगका अनुसार भक्तपुरको साविक नंखेल गाविसका एक सेवाग्राहीको जग्गा डोरपास गर्न एकलाख रुपैयाँ घूस लिने नायब सुब्बा देवराज काफ्लेलाई नगदसहित नियन्त्रणमा लिएको हो ।
अख्तियार टोलीले काफ्लेलाई भक्तपुर नगरपालिका ९ तुमचो दुगुरेस्थित मालपोत कार्यालय भक्तपुरको अण्डरग्राउन्ड पार्किङबाट रंगेहात पक्राउ गरेको हो ।नासु काफ्ले जग्गा डोरपास गर्न आएका हाल सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित एक सेवाग्राहीलाई महिनौं आलटाल गरेका थिए । घूसको लागि महिनौं दिन काम गर्न आलटाल गरेपछि अख्तियारमा जानकारी दिएर सेवाग्राहीले नासु काफ्लेलाई बिहीबार एकलाख रुपैयाँ दिने तारतम्य मिलाएको जानकारी दिए ।
सेवाग्राहीले नासु काफ्लेलाई उनले भनेबमोजिको रकम लिन मालपोत कार्यालयको अन्डरग्राउण्ड पार्किङमा बोलाएर एक लाख रुपैयाँ थमाएका थिए । उक्त रकम थमाएर सेवाग्राही निस्कनेबित्तिकै अख्तियार टोलीले काफ्लेलाई नियन्त्रणमा लिएको थियो । मालपोत कार्यालय भक्तपुरका अनुसार अख्तियारले घूससहित नियन्त्रणमा लिएका काफ्ले करिब तीन महिनापछि सेवा निवृत्त हुँदै थिए ।
साभारः अन्नपूर्ण पोष्टबाट
No comments:
Post a Comment