ताप्लेजुङ : फुङलिङ नगरपालिका— ९८ की एक वृद्धाले खेलमैदान निर्माणको लागि १४ रोपनी जग्गा प्रदान गरेकी छन् । साबिकको हाङ्देवा २ सैसेले निवासी ९८ वर्षीया नन्दमाया गुरुङले ४२ लाख मूल्यबराबरको १४ रोपनी जग्गा नन्दमाया स्पोर्टिङ क्लबको नाममा निःशुल्क रजिस्टे«सन पास गरिदिएको क्लबका सचिव घनेन्द्र गुरुङले बताए । उक्त ठाउँमा भविष्यमा जिल्लास्तरीय खेलकुद प्रतियोगिता हुने र राम्रा खेलाडी उत्पादन हुने विश्वस्त भएर जग्गा प्रदान गरेको नन्दमायाकी छोरी देवी गुरुङले बताइन् ।
नन्दमायालाई क्लबले मंगलबार एक कार्यक्रमको आयोजना गरी सम्मानसमेत गरेको छ । फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले खादा र दोसल्ला ओढाएर सम्मान गरे । सम्मान कार्यक्रममा बोल्दै मेयर प्याकुरेलले ९८ वर्षीया वृद्धाले यसरी खेलकुद क्षेत्रको विकासका लागि योगदान गर्नु महान् कार्य भएको भन्दै प्रशंसा गरे । ‘हजुरआमाको यो कार्य एकदमै सराह्रनीय छ, उहाँले गाउँ र जिल्लाकै खेल क्षेत्रको विकासका लागि गर्नुभएको योगदान हामी बिर्सदैनौं ।’ उनले भने, ‘नगरपालिकाको मुटुमा जग्गा दिनु चानचुने कुरा होइन ।’
सामाजिक कार्यको सबैले अनुसरण गर्न पनि मेयर प्याकुरेलले आग्रह गरे । जिल्लाभित्र विभिन्न प्रतियोगिता सञ्चालन गर्न खेलमैदानको अभाव रहेको अवस्थामा जग्गा प्राप्त भएको भन्दै उनले क्लबलाई धन्यवाद दिए । अब उक्त जग्गालाई नगरपालिकाको स्वामित्वमा ल्याएर सो ठाउँसम्म सडक खन्ने, मैदान सम्याउनेलगायतका पूर्वाधार विकासमा लगानी गर्ने प्याकुरेलको भनाइ छ । नगरपालिकाले नीति बनाएर खेलमैदानको संरक्षण गर्ने जिम्मा भने क्लबलाई दिने उपमेयर बमबहादुर भट्टराईले बताए । उपमेयर भट्टराईले खेलकुद राष्ट्रलाई विश्वभर चिनाउने माध्यम रहेको भन्दै मैदानको उपयोग गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न लाग्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सो वडाका वडाध्यक्ष तारानाथ बरालले आगामी वाड परिषद्बाट मैदान सम्याउन बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । वडा नं ८ का वडाध्यक्ष पदम पालुङ्वाले खेलमैदानको निर्माणपछि खेल पर्यटनको माध्यमबाट समेत नगरपालिकालाई परिचित गराउन सकिने बताए ।
साभारः अन्नपूर्ण पोष्टबाट

No comments:
Post a Comment